राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी निवेदनमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
मंगलबारदेखि सुरु भएको सुनुवाइ न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा जारी छ । लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटसँगै सहकारी प्रकरणमा थुनामा रहेका पूर्व डीआईजी छविलाल जोशीको निवेदन (नं. ७३) पनि एउटै इजलासमा सुनुवाइको सूचीमा राखिएको छ ।
मंगलबार लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ता सुरेन्द्र थापा, दीपेन्द्र झा, डा. नारायणदत्त कँडेल र विवेक राउतलगायतले पक्ष प्रस्तुत गरेका थिए ।
बहस मंगलबार नसकिएपछि रिट हेर्दा हेर्दैमा राखिएको हो । आजको सुनुवाइमा लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठसहित अन्य केही अधिवक्ताहरूले बहस गर्ने छन् । त्यसपछि पूर्व डीआईजी जोशीका कानुन व्यवसायीहरू, पीडित पक्ष र सरकारी वकिलको पालो हुनेछ ।
यदि सबै पक्षको बहस आजै सकियो भने सर्वोच्च अदालतबाट आजै आदेश आउने सम्भावना रहेको कानुनी स्रोतले जनाएको छ ।
लामिछाने चितवनको सहकारी संस्थासँग जोडिएको करोडौं अनियमितता प्रकरणमा अनुसन्धानको माग उठिरहेका बेला कानुनी प्रक्रिया अघि बढाउन खोजिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका हुन् ।