जीतपुरसिमरा उपमहानगरपालिका र परवानीपुर गाउँपालिकाको संयुक्त आयोजनामा सडक सुरक्षा तथा ट्राफिक सप्ताह–२०८२ बुधबारदेखि औपचारिक रूपमा सुरु गरिएको छ ।
सप्ताहको उद्घाटन पूर्व भौतिक पूर्वाधार मन्त्री तथा प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान) ले गर्नुभएको हो। कार्यक्रममा बोल्दै श्रेष्ठले ट्राफिक नियम सबैका लागि अनिवार्य रहेको उल्लेख गर्दै नियम उल्लंघन गर्नेलाई छुट दिने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाएको बताए ।
“यदि नेतादेखि कर्मचारीसम्मका सिफारिसको अन्त्य भयो भने ट्राफिक दुर्घटना उल्लेख्य रूपमा घट्नेछ,”
कार्यक्रममा नगर प्रमुख राजन पौडेल ले व्यवसायिक फर्महरूलाई आफ्नै पार्किङ्गको व्यवस्था गर्न आग्रह गर्नुभयो। निजी जग्गामा पार्किङ्ग बनाएर शुल्क लिन सकिने सुझाव दिंदै, अपर्याप्त जग्गाको समस्या भएका स्थानमा उपमहानगरसँग समन्वय गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
बारा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी ले ट्राफिक नियम उल्लंघन समाजमा नकारात्मक प्रभाव पारिरहेको भन्दै अब सम्झाउने होइन, सिधै कारबाही गर्ने चेतावनी दिनुभयो।
“सडक पेटीमा सामान राख्ने बानी हटाउनुपर्छ। अरुले हटाएपछि हटाउने सोच गलत हो,”
नेपाल राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाका प्रमुख राजकुमार सिलवाल ले देशभर ट्राफिक दुर्घटनाको अवस्था गम्भीर रहेको जानकारी दिनुभयो। उहाँका अनुसार हरेक दिन सरदरमा आठ जनाले ट्राफिक दुर्घटनामा ज्यान गुमाइरहेका छन् ।
कार्यक्रममा प्रदेशसभा सदस्य देवनारायण चौधरी, परवानीपुर गाउँपालिका अध्यक्ष राम क्षेत्री कुर्मी, बारा प्रहरी उपरीक्षक सन्तोष तामाङ, सडक डिभिजन हेटौंडाका सिनियर डिभिजनल अधिकृत गुरु प्रसाद अधिकारी, डिभिजन वन कार्यालय बाराका प्रमुख राजीव कुमार झा, उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम सात दिनसम्म संचालन हुनेछ। अभियान अन्तर्गत जनचेतनामूलक कार्यक्रम, ट्राफिक शिक्षा तथा सडक सुरक्षा प्रवर्द्धन सम्बन्धी विविध गतिविधिहरू सञ्चालन गरिने उपमहानगरपालिकाले जनाएको छ ।