बारा जिल्लाको सुवर्ण गाउँपालिका–१ रामटोल सोलखपुरका १३ वर्षीय किशोर छोटेलाल कुमार रामको मृत्युको विरोधमा आफन्तजन तथा स्थानीयबासीले शवसहित प्रदर्शन गरेका छन् ।
शनिबार सोलखपुरमा प्रदर्शन गर्दै उनीहरूले मोटरसाइकल दुर्घटनामा संलग्न चालकलाई तत्काल पक्राउ गरी कानुनी कारवाही गर्न माग गरेका हुन् । प्रदर्शनको क्रममा आक्रोशित स्थानीयले बीच सडकमा टायर बालेर अवरोध गरेका थिए ।
घटनाबारे जानकारी दिंदै कवहीगोठ सन्तगञ्जका स्थानीय बिनोद गिरीले मोटरसाइकलको ठक्करबाट किशोरको मृत्यु भएको पुष्टि गरे ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कवहीगोठमा कक्षा ६ मा अध्ययनरत छोटेलाल राम बिहीबार (जेठ ८) बिहान ११ बजे विद्यालयबाट घर फर्किँदै गर्दा दुर्घटनामा परेका थिए । बरियारपुरबाट कवहीगोठतर्फ तीव्र गतिमा आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकलले रामलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज लगिएको थियो, तर उनकाे उपचारकाे क्रममा बिहीबार मृत्यु भएकाे छ ।
मृतकका बुवा राजेन्द्र राम रोजगारीका सिलसिलामा भारतको केरलामा रहेका छन् । उनी घर फर्किएपछि मात्र शवको पोष्टमार्टम तथा अन्तिम संस्कार प्रक्रिया अघि बढाइएको हो । बुवाको आगमनपछि आफन्त र स्थानीयवासीले न्यायको माग गर्दै शव सडकमा राखेर प्रदर्शन गरेका हुन् ।
ठक्कर दिने मोटरसाइकल चालक र सवारीसाधन भने घटनापछि फरार भएका छन् ।