मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयले यस वर्षको गणतन्त्र दिवस (जेठ १५) तीनदिने विशेष कार्यक्रमसहित भव्य रूपमा मनाउने तयारी गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता समेत रहेका संचारमन्त्री राजकुमार लेखीका अनुसार, यसपटकको गणतन्त्र दिवस अवसरमा प्रेस स्वतन्त्रता सेनानीहरुलाई विशेष सम्मानसहित प्रेरणा दिने गरी कार्यक्रम तय गरिएको छ ।
डेढ दर्जन पत्रकार सम्मानित हुने
गृह, सञ्चार तथा कानूनमन्त्री लेखीले राजविराज दैनिकसँगको कुराकानीमा बताए अनुसार, गणतन्त्र स्थापनामा विशेष योगदान दिएका करिब डेढ दर्जन प्रेस स्वतन्त्रता सेनानीहरुलाई नगद राशिसहित दोसल्ला ओढाएर सम्मान गरिनेछ। उनले भने, “गणतन्त्र स्थापनामा संचारकर्मीको भूमिका ऐतिहासिक रह्यो, त्यसको कदरस्वरूप प्रदेश सरकारले उनीहरूलाई सम्मान गर्न लागेको हो ।”
पत्रकारको जीवन बीमामा बजेट विनियोजनको तयारी
आफू पनि पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएको भन्दै मन्त्री लेखीले आगामी बजेटमा पत्रकारहरूको जीवन बीमा कार्यक्रम लागू गर्न लागिएको जानकारी दिए। “पत्रकारहरूको पीडा बुझ्छु, त्यसैले उनीहरूको सुरक्षाका लागि आवश्यक कार्यक्रमहरू ल्याउँदैछौं,” उनले भने ।
गणतन्त्र दिवसका अवसरमा मधेश सरकारले आयोजना गर्ने तीनदिने कार्यक्रम यस्ता छन्:
जेठ १४ गते – मधेश भवन र सबै मन्त्रालयहरूमा सरसफाइ कार्यक्रम तथा रक्तदान
जेठ १५ गते – ‘गणतन्त्रको उपलब्धि र चुनौती’ विषयक विचार गोष्ठी, साथै प्रेस स्वतन्त्रता सेनानी सम्मान कार्यक्रम
जेठ १६ गते – जनकपुरस्थित मानव सेवा आश्रममा रहेका आश्रितहरूलाई दिवा भोजन खुवाउने सामाजिक उत्तरदायित्व कार्यक्रम
वि.सं. २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो ऐतिहासिक बैठकले नेपालको एक शताब्दी लामो राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । जनआन्दोलन २०६२/६३ ले यो परिवर्तनको जग खनेको थियो। त्यस यताकै महत्वपूर्ण राजनीतिक उपलब्धिको सम्मान स्वरूप हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाइन्छ ।
यस वर्ष मधेश प्रदेशले गणतन्त्र दिवसलाई जनताको नजिक पुर्याउने उद्देश्यले विविध कार्यक्रम तय गरेको हो, जसले प्रदेशस्तरमा राष्ट्रिय चेतना र नागरिक दायित्वबोध विस्तार गर्ने जनाएको छ ।