सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्व मोहन प्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी, प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनामाथि भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
अख्तियारका अनुसार गाउँपालिकाको प्रशासकीय भवन निर्माण प्रक्रियामा सार्वजनिक खरिदसम्बन्धी नियम उल्लंघन गरिएको, गुणस्तरीय निर्माण नपुगेको र परामर्शदाता कम्पनीलाई गरिएको भुक्तानी समेत अस्वाभाविक देखिएको उजुरीका आधारमा अनुसन्धान गरिएको हो ।
अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७६/०७७ मा तयार गरिएको डीपीआरअनुसार प्रशासकीय भवनको लागत अनुमान ६ करोड १८ लाख ६८ हजार रुपैयाँभन्दा बढी थियो । तर, श्रोतको सुनिश्चितता र वार्षिक योजना स्वीकृत नगरी सो डीपीआरलाई खण्डीकरण गर्दै मात्र ३७ लाख ७५ हजार रुपैयाँ बराबरको लागत अनुमान तयार गरिएको पाइएको छ ।
मिति २०७७ असार १५ भित्र सम्पन्न गर्ने गरी गरिएको सम्झौताअनुसार, पालिकाले प्रस्तुत गरेको प्राविधिक मूल्याङ्कन प्रतिवेदनमा ३७ लाख ७९ हजार रुपैयाँको काम सम्पन्न भएको देखाइएको थियो । तर, स्थलगत निरीक्षणपछि उक्त संरचना त्रुटिपूर्ण देखिएको, थप निर्माण गर्न नमिल्ने अवस्था रहेको र सम्पूर्ण संरचना नै प्रयोगविहीन भएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
यसरी सार्वजनिक सम्पत्ति हिनामिना, हानी र दुरुपयोग भएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐनअन्तर्गत विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगको दाबी छ ।