वर्ष १४ की नाबालिकालाई झूटो प्रलोभन देखाई भारतमा लगी पटक–पटक करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्ने व्यक्ति भारत विहारका २५ वर्षीय मनिष पासवान रहेका छन्, जो हाल पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका–१५, भिष्वामा कोठा भाडामा बस्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार, २०८१ साल मंसिर २५ गते घरबाट खाना खाएर बजार गएको नाबालिका फर्किन नआएपछि पीडितका परिवारले प्रहरीमा खोजतलासको उजुरी दिएका थिए ।
अनुसन्धानका क्रममा मनिष पासवानले ‘विवाह गर्छु’ भन्ने झूटो प्रलोभन देखाई नाबालिकालाई भारतको विहार लगेका थिए । भारतमा विभिन्न स्थानमा राखी पटक–पटक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। २०८२ साल जेठ ११ गते भने पीडित किशोरीलाई वीरगञ्ज ल्याई छाडी गएको पाइएको छ ।
जाहेरीका आधारमा २०८२ साल जेठ १२ गते मनिष पासवानलाई नियन्त्रणमा लिइएको हो । करणीसम्बन्धी कसूरमा उनीमाथि अनुसन्धान अघि बढाइएको छ । जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।