संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत हुने भएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अपराह्न ३ः०० बजे बस्ने संयुक्त संसद् बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम बजेट पेस गर्नुहुने कार्यसूची रहेको संसद् महासचिव पदमप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभा दुबैका सदस्यलाई दिउँसो २ः४५ बजेभन्दा अगाडि प्रतिनिधिसभा बैठककक्षमा उपस्थित हुन अनुरोध गरेको छ ।
यसअघि, अपराह्न १ः३० बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा वाचन गर्ने कार्यक्रम रहेको छ। त्यस्तै बैठकमै अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण पनि पेस गर्नुहुनेछ ।
राष्ट्रियसभाको बैठक अपराह्न १ः४५ बजे बस्नेछ। सो बैठकमा पनि अर्थमन्त्री पौडेलले ‘आव २०८२/०८३ को आर्थिक सर्वेक्षण’ सभासमक्ष पेस गर्नुहुने सम्भावित कार्यतालिका सार्वजनिक गरिएको छ ।