सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश र न्यायाधीशको नाम जोडिएर पछिल्लो समय सार्वजनिक भएका समाचारका विषयमा निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।
न्यायपालिकासँग सम्बन्धित विषयमा सार्वजनिक भएका समाचारले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता, गरिमा र जनविश्वासमा आघात पुर्याएको भन्दै बारले यसबारे यथार्थ सार्वजनिक गर्न माग गरेको हो ।
शुक्रबार बारका सचिव रमणकुमार कर्णले विज्ञप्ति जारी गर्दै पछिल्ला केही दिनदेखि प्रधानन्यायाधीश र न्यायाधीशका सम्बन्धमा प्रकाशित समाचारले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता, गरिमा तथा जनविश्वासमा आघात पुगेको उल्लेख गरेका छन् ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा थुनामा रहेका इनम सापकोटा र न्यायाधीश हरिप्रसाद फुयालबीच ह्वाट्सएपमा कुराकानी भएको तथा उनीहरूबीच हिमालय होटलमा भेट भएको विषय सार्वजनिक भएपछि न्यायपालिकामाथि प्रश्न उठिरहेको छ ।
बार एसोसिएसनले प्रकाशित समाचार सामग्री, सम्बन्धित न्यायाधीशहरूबाट जारी विज्ञप्ति तथा सार्वजनिक अभिव्यक्तिसमेतलाई आधार मानेर पूर्वाग्रहरहित छानबिन गर्न माग गरेको छ ।
विज्ञप्तिमा न्यायपालिकाको स्वतन्त्रता र न्यायिक मर्यादा अक्षुण्ण राख्न तथा न्याय सम्पादनको कार्य निर्भीकतापूर्वक गर्न सक्ने वातावरण निर्माण गर्न सरोकारवालालाई आग्रह गरिएको छ ।
न्यायका मान्य सिद्धान्तअनुसार सक्षम निकायबाट निष्पक्ष छानबिन गरी घटनाको सत्यतथ्य सार्वजनिक गर्न बारले जोडदार माग गरेको छ ।