उद्योग विभागले नदी तथा खोलामा फोहोर पानी प्रशोधन नगरी सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ ।
दीपावली तथा छठ पर्वका बेला वीरगंज–पथलैया औद्योगिक करिडोरका उद्योगहरूले निष्कासन गरेको प्रदूषित पानीका कारण सिर्सिया नदी आसपासका स्थानीय बासिन्दालाई चाडपर्व मनाउनसमेत कठिनाइ भएको गुनासो आएपछि विभागले यस्तो निर्देशन जारी गरेको हो ।
विभागले शुक्रबार सार्वजनिक गरेको सूचनामा उद्योगहरूबाट निष्कासन हुने फोहोर पानी नेपाल सरकारले तोकेको वातावरणीय मापदण्डअनुसार प्रशोधन गरेर मात्र बाहिर पठाउने व्यवस्था मिलाउन भनिएको छ ।
त्यस्तै, चाडपर्वका अवसरमा नदीको स्वच्छता कायम राख्न उद्योगहरूलाई आफ्नो तर्फबाट डिप बोरिङ वा अन्य स्रोतबाट स्वच्छ पानी नदीमा प्रवाह गरी सहयोग गर्नसमेत विभागले अनुरोध गरेको छ ।
विभागले निर्देशन कार्यान्वयन भए–नभएको विषयमा स्थलगत अनुगमन गर्ने जनाएको छ । यसका लागि उद्योग मन्त्रालय, उद्योग विभाग, वातावरण विभाग, प्रदेशअन्तर्गतका उद्योगसम्बन्धी निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तहलगायत सरोकारवाला निकायको संयुक्त टोलीले निरीक्षण तथा अनुगमन गर्नेछ ।
वातावरणीय कानुन र मापदण्डको पालना गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै विभागले नदी प्रदूषण नियन्त्रणमा जिम्मेवार भूमिका निर्वाह गर्न उद्योगीहरूलाई सचेत गराएको छ ।
सिर्सिया नदीमा वर्षौंदेखि औद्योगिक प्रदूषणको समस्या रहँदै आएको छ । विशेषगरी चाडपर्वका बेला नदीको प्रदूषण र दुर्गन्धका कारण आसपासका बासिन्दा प्रभावित हुँदै आएका छन् । विभागको पछिल्लो निर्देशनले उद्योगबाट निस्कने प्रदूषित पानी नियन्त्रणमा कस्तो प्रभाव पार्छ भन्ने कुरा यसको प्रभावकारी कार्यान्वयन र अनुगमनमा निर्भर रहनेछ ।