गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ ।
मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम एन-प्याब्सनलाई निलम्बन गर्ने निर्णय गरिएको जनाएको हो ।
मन्त्रालयका अनुसार एन-प्याब्सनले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम मन्त्रालयबाट जारी गरिएका निर्देशनहरू पटक–पटक पालना नगरेको पाइएको छ । साथै, संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीत गतिविधि गरेको मन्त्रालयको ठहर छ ।
यस विषयमा मन्त्रालयले २०८३ असोज २३ गते सम्बन्धित सरोकारवालासँग छलफलसमेत गरेको थियो । उक्त छलफलमा राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयले २०८२ मंसिर १२ गते जारी गरेको निर्देशनअनुसारका कार्य गर्न आग्रह गरिएको भए पनि त्यसको पालना नभएको मन्त्रालयले जनाएको छ ।
सरकारी निर्देशनको निरन्तर अवज्ञा भएको भन्दै मन्त्रालयले एन-प्याब्सनलाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।
मन्त्रालयले सार्वजनिक सूचना जारी भइसकेपछि संस्थाको नाममा कुनै पनि समूह वा गुटबाट गतिविधि सञ्चालन गर्नु गैरकानुनी हुने चेतावनीसमेत दिएको छ । त्यस्ता गतिविधिमा संलग्न हुनेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।