सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ । शनिबार बिहान कञ्चनरुप नगरपालिका–१२ का ६२ वर्षीय दशरथ बिष्टको हात्तीको आक्रमणमा परेर मृत्यु भएको हो ।
वडा सदस्य जैनुदिन मियाँका अनुसार बिहान करिब ३ बजेतिर मकैबारीमा रुँगेर बसेका बिष्टमाथि जंगलबाट आएको करिब २०–२५ वटा हात्तीको समूहले आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएका बिष्टको घटनास्थलमै ज्यान गएको स्थानीयले बताएका छन् ।
घटनापछि इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान थालेको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकामस्थित गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज लगिने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
मृतक बिष्ट स्थानीय एक वन उपभोक्ता समितिका पूर्व वन रक्षक रहेको बुझिएको छ ।