बिरगंज, जेठ १९ — नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन पर्सा शाखाले नारायणी अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफुल वितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको उक्त कार्यक्रममा अस्पतालका विभिन्न वार्डहरूमा रहेका दुई सयभन्दा बढी बिरामीहरूलाई फलफुल प्रदान गरिएको हो ।
कार्यक्रम अन्तर्गत प्रसूति, मेडिसिन, आइसियु, सिसियु, पोस्टअप, सर्जिकललगायतका विभागमा भर्ना भएका बिरामीहरूसँग संवाद गर्दै उनीहरूको अवस्थाबारे जानकारी लिइएको थियो । साथै, केही गुनासोहरू संकलन गरी सम्बन्धित निकायलाई तत्काल समाधान गर्न निर्देशन दिइएको आयोजकले जनाएको छ ।
नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय महतोले बिरामीहरूको पीडा बुझ्दै सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले यस्तो कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा बिरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम सहभागी हुनु भयो । उहाँले अस्पतालको निरीक्षण गर्दै बिरामीहरूको समस्याबारे अवलोकन गर्नुभयो र समाधानका लागि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
फलफुल वितरण कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो । यस्तै, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम रायमाझी, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल, नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. उदनारायण सिंहलगायतको उपस्थिति रहेको उपप्रमुखका प्रेस सल्लाहकार महमद सदाबले जानकारी दिनुभयो ।