आगामी मनसुन तथा मनसुनजन्य प्राकृतिक प्रकोपको सामना गर्न सशस्त्र प्रहरीले मधेस प्रदेशका आठवटै जिल्लामा विपद् उद्दार स्वयंसेवक उत्पादन गर्न थालेको छ ।
सशस्त्र प्रहरी बलले स्थानीय पालिकाहरूसँग समन्वय गर्दै समुदायमै विपद् उद्दार जनशक्ति तयार पार्ने अभियान सुरु गरेको हो । सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) कृष्ण ढकालका अनुसार पहिलो चरणमा मधेस प्रदेशका पाँच जिल्लामा १३९ जनालाई २१ दिने तालिम दिइँदैछ । आइतबारदेखि रौतहटमा ३८ जना, महोत्तरीमा २६ जना, सर्लाहीमा २५ जना, धनुषामा २५ जना र सप्तरीमा २५ जनाको तालिम सुरु भएको उनले जानकारी दिए । बाँकी तीन जिल्ला—बारा, पर्सा र सिरहामा पनि छिट्टै २५–२५ जनाका लागि तालिम सञ्चालन गरिने उनले बताए ।
डिआइजी ढकालका अनुसार मधेस प्रदेश प्राकृतिक प्रकोप र मानवजन्य जोखिमहरूका हिसाबले अति संवेदनशील क्षेत्र भएकाले विपद्का बेला समुदायलाई आफैं सजग र सक्षम बनाउन तालिममार्फत जनशक्ति तयार पारिँदैछ ।
“प्राकृतिक विपद्का फस्ट रेस्पोन्डर भनेकै स्थानीय समुदाय हुन्,” ढकालले भने, “जब समुदाय आफैँ तयार हुन्छ, त्यतिबेला मात्रै विपद् व्यवस्थापन प्रभावकारी हुन्छ । उद्दारमा हामी खटिंदा मानवीय क्षति न्यून बनाउन सुरक्षा फौज र समुदायको सहकार्य आवश्यक हुन्छ ।”
उनका अनुसार तालिम प्राप्त स्वयंसेवकहरूलाई विपद्का बेला सशस्त्र प्रहरी बलसँगै उद्दारमा खटाइनेछ ।