सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) ले सामाजिक सञ्जालमा ‘म झोले हो’ अभियान थालेको छ ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तस्बिरमा ‘म झोले हो’ लेखेर पोस्ट गरेपछि पार्टीभित्रका शीर्ष नेतादेखि कार्यकर्तासम्म अभियानमा सहभागी भएका छन् । ओलीले पोस्टमा लेखेका छन्, ‘म झोले हो, एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कैयौँ गुणा उत्तम चरित्र हो।’ उनले झोले भनेर गिज्याइएका पात्रहरू नै साँचो लोकतन्त्रका पक्षधर भएको उल्लेख गरेका छन् । त्यसपछि एमाले नेताहरूले आ–आफ्नो तस्बिरमा ‘म झोले हो’ लेख्दै पोस्ट गर्न थालेका छन् ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाललगायत नेताहरूले यो ट्रेन्डलाई साथ दिएका छन् । पोखरेलले पोस्ट गर्दै लेखेका छन्, ‘म वंश परम्परामा आधारित शासनसत्ताको विरोधमा छु, म अनिर्वाचित शासनसत्ताको विरोधमा छु, यिनै मान्यता बोक्ने म झोले हो ।’
ज्ञवालीले विचारको झोला बोक्न संकोच नगर्न आह्वान गर्दै लेखेका छन्, ‘सामन्तको झोला बोक्न हुन्न, विचारको झोला बोक्न केको संकोच!’ अन्य नेताहरूले पनि झोले शब्दलाई विचार र लोकतन्त्रप्रतिको निष्ठासँग जोडेर अर्थ दिन खोजेका छन् । तर अभियानसँगै आलोचना पनि बढेको छ। केही सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त अभियानलाई व्यंग्यमा उडाएका छन् । भाषाविद् तथा लेखक डा. स्वामी केशवानन्दले ‘झोले’हरूले भाषा र शासन प्रणाली दुवै बिगारेको टिप्पणी गरेका छन्। उनले लेखेका छन्, ‘मको क्रियापद “हो” होइन, “हुँ” हुन्छ भनेर शिक्षकसँग सोध्न प्रधानमन्त्रीलाई सुझाव दिन्छु ।’
यस्तै, सामाजिक अभियन्ता रञ्जु दर्शनाले कम्युनिस्टहरू कमाउनिस्ट भएर झोले भनिएको बताउँदै “झोले, ब्यागे वा सुटकेसे जे भए पनि जबसम्म नागरिककेन्द्रित राजनीति हुँदैन, केही परिवर्तन हुँदैन” भन्दै अभियानप्रति निराशा व्यक्त गरेकी छिन् ।
कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ‘म भ्रष्टाचारी हो’ जस्ता पोस्ट लेख्दै एमाले नेतृत्वप्रति कटाक्ष गरेका छन् । १५ जेठमा एमालेले गणतन्त्र दिवसको अवसरमा काठमाडौंको रत्नपार्कमा आयोजना गरेको जुलुसका कारण ट्राफिक जाममा परेका सर्वसाधारणले ‘झोले’ भन्दै नारा लगाएका थिए। राजावादीको आन्दोलनमा पनि यही शब्द प्रयोग गरिएको थियो ।
प्रधानमन्त्री ओलीले यही सन्दर्भमा एमालेनिकट बुद्धिजीवी परिषद्को कार्यक्रममा आफू ‘एमालेको झोले’ भएको भनेर उक्त अभियानको सुरुआत गरेका थिए ।
तर अभियानमा पार्टीका सबै नेता सक्रिय छैनन् । दशबुँदे सहमतिमा आधारित नेताहरू— उपाध्यक्ष सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट, रघुजी पन्त, अमृत बोहोरा, भीम आचार्यलगायत नेताहरूले अभियानमा सहभागिता जनाएका छैनन्। ‘दशबुँदे’का दुई मुख्य नेता भीम रावल र घनश्याम भुसाल भने पार्टीबाट नै बाहिरिइसकेका छन् ।