सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत पर्सा जिल्लाका प्रमुख खेल संरचनाहरूको निर्माण तथा स्तरोन्नति कार्यका लागि १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलद्वारा संसदमा प्रस्तुत बजेट दस्तावेजअनुसार, वीरगञ्जको नारायणी रंगशाला सहित पर्साका अन्य खेलमैदान तथा कभर्डहलहरू यस योजनामा समेटिएका छन् । बजेट विवरणअनुसार वीरगञ्जको नारायणी रंगशालाको स्तरोन्नतिका लागि ४ करोड, निर्माणाधीन नारायणी बहुउद्देश्यीय कभर्ड हलका लागि ४ करोड, आर्दशनगर रंगशाला र बढनियार खेलमैदानका लागि ३ करोड रुपैयाँ छुट्याइएको छ ।
त्यस्तै, जगरनाथपुर गाउँपालिका अन्तर्गतको मधुवाहा मेघराज उपाध्याय क्रिकेट मैदानको निर्माणका लागि पनि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ । सरकारको यो लगानीले पर्सा जिल्लामा खेलकुद संरचना विस्तार हुने र स्थानीय प्रतिभाहरूलाई खेलकुद गतिविधिमा प्रोत्साहन पुग्ने अपेक्षा गरिएको छ ।