अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिलाठी कोईलाडी गाउँपालिकामा ठेक्कासम्बन्धी विज्ञापन प्रकाशनमा अनियमितता गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार सो गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा विभिन्न चार वटा निर्माणसम्बन्धी बोलपत्र आह्वान र खरिद आशयको सूचना सार्वजनिक खरिद ऐन, २०६३ अनुसार राष्ट्रिय स्तरका दैनिक पत्रिकामा सार्वजनिकरूपमा प्रकाशन गर्नुपर्ने थियो । तर, नियमनविपरीत बोलपत्र आह्वानको सूचना सार्वजनिकरूपमा प्रकाशित नगरी बदनियतसाथ एक–एक प्रति मात्र छपाई गरिएको पाइएको छ ।
प्रेस काउन्सिल नेपालले २०७९ चैत २३ गते पठाएको पत्रका आधारमा ती सूचनाहरू सार्वजनिक तवरमा वितरण गर्नकै लागि प्रकाशन नभएको पुष्टि भएको आयोगको भनाइ छ । त्यसबाहेक, पत्रिका व्यवस्थापन प्रणालीको पिडिएफ अभिलेखमा समेत कुनै सूचना नदेखिएको र प्रेस काउन्सिलमा बुझाइएको विवरणमा समेत त्यो उल्लेख नभएको आयोगको ठहर छ ।
बोलपत्र आह्वानको सूचना ‘सौर्य दैनिक’मा एक प्रति मात्र प्रकाशित गरिएको, उक्त सूचना प्रेस काउन्सिलमा बुझाइएको विवरणमा नभएको, र पिडिएफमा पनि भेट्न नसकिने अवस्थाले बदनियतपूर्वक सूचना लुकाएर ठेक्का प्रक्रिया अघि बढाइएको आयोगको निष्कर्ष छ ।
यसै आधारमा आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रकुमार यादव, सहलेखापाल शत्रोहन दास, टाइम्स रिपब्लिक मिडियाका संस्थापक भूषणकुमार सिंह, डच मिडियाका निर्देशक रवि अर्याल र प्रभाव दैनिकका कृष्णबहादुर कार्कीविरुद्ध रु ३ लाख १६ हजार ४ सय बराबरको बिगो माग गर्दै कैद सजायसहितको अभियोग दायर गरेको हो ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार मङ्गलबार विशेष अदालतमा पाँचै जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।