प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्ने भएको छ। बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुनेछ । सो प्रस्तावमाथि आजको बैठकमै छलफल सुरु हुने कार्यसूची रहेको छ ।
त्यसैगरी, प्रतिनिधिसभाकै बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पनि पेस गर्ने कार्यक्रम रहेको छ ।
यता, राष्ट्रियसभाको बैठक पनि आजै अपराह्न १ः१५ बजे बस्नेछ। सो बैठकमा पनि अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र त्यसै विषयमा छलफल सुरु गर्ने कार्यसूची तय गरिएको छ ।
बजेट प्रस्तुतिपछि सुरु हुने यो छलफल आगामी दिनमा बजेट सम्बन्धी धारणा, सुझाव र समीक्षाका लागि महत्त्वपूर्ण मानिन्छ ।