मधेश प्रदेश सरकारले “एक निर्वाचन क्षेत्र, एक सडक कार्यक्रम” (दोस्रो चरण) अन्तर्गत पर्सा जिल्लाको धोरे–बोर्डर–हसवा–रानीगंज–लखनपुर हुलाकी सडक कालोपत्रे गर्न १७ करोड ५५ लाख ८७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।
उक्त योजना प्रदेश सरकारद्वारा ग्रामीण यातायात पूर्वाधार सुदृढीकरणका लागि अघि सारिएको प्रमुख योजनामध्ये एक हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय जनार्दन सिंह क्षेत्रीको क्षेत्रमा परेकाे यो परियोजनाले स्थानीय विकास, कृषि बजार पहुँच र आवागमन सहजतामा महत्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
मन्त्री क्षेत्रीले बताए अनुसार, "ग्रामीण क्षेत्रको विकासबिना समग्र प्रदेशको प्रगति सम्भव छैन । यो सडक निर्माणले केवल भौतिक पहुँच मात्र होइन, आर्थिक गतिविधिमा पनि नयाँ गतिशीलता ल्याउनेछ ।"
पर्सा जिल्लाको विभिन्न स्थानहरूलाई आपसमा जोड्ने यो सडक लामो समयदेखि सुधारको पर्खाइमा रहेको थियो। अब बजेट विनियोजन भएसँगै निर्माण कार्य चाँडै सुरु हुने प्रदेश सरकार स्रोतले जनाएको छ ।