विश्व वातावरण दिवसको अवसरमा पर्सा जिल्लाको छपकैयामा सञ्चालन भइरहेको ‘हाम्रो हरियाली अभियान’ अन्तर्गत ४५० वटा नयाँ बिरुवाहरू रोपिएको छ । छठघाट क्षेत्र वरपर आँप, अमला, नीम, गुलमोहर लगायतका प्रजातिका बिरुवाहरू रोपिएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य रहबर अंसारीले समुदायको सामाजिक र आर्थिक रूपान्तरणमा हरियाली अभियानले महत्वपूर्ण भूमिका खेलेको बताउँदै दीर्घकालीन संरक्षणमा सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
उक्त अभियान दुई वर्षअघि स्थानीय अभियन्ताहरूले बाँझो जमिनलाई हरियाली बगैंचामा रूपान्तरण गर्ने लक्ष्यसहित सुरु गरेका थिए । हालसम्म एक हजारभन्दा बढी रुख रोपिएको छ भने क्षेत्रलाई घेराबार गरेर पारिस्थितिक प्रणाली पनि विकास गरिएको छ ।
"यो केवल वृक्षारोपण होइन, यो न्याय, शिक्षा र वातावरणप्रतिको हाम्रो साझा प्रतिबद्धता हो," अभियन्ताले कार्यक्रममा सम्बोधन गर्दै भने ।
कार्यक्रम सफल बनाउन छठघाट समिति अध्यक्ष रविन्द्र महतो र उहाँको टोलीको सक्रियता उल्लेखनीय रह्यो । रामधेनी तिवारी विद्यालयका विद्यार्थीहरूको सहभागिताले समेत कार्यक्रममा थप उत्साह थपेको थियो ।
जिल्ला वन कार्यालय, पर्साको प्राविधिक तथा संस्थागत सहयोगले अभियानलाई थप सुदृढ र दीर्घकालीन बनाउने दिशामा सहयोग पुगेको आयोजकले जानकारी दिएका छन् ।
बगैंचाको विशेषता:
- वर्षा जल सोस्ने क्षमताले भू-जल स्तरमा सुधार ।
- तापमान घटाउने, हावा शुद्ध पार्ने र चराचुरुङ्गीलाई आश्रय दिने वातावरणको निर्माण ।
- बगैंचाबाट हुने आम्दानी दलित तथा विपन्न बालबालिकाको शिक्षामा खर्च गरिने व्यवस्था ।
स्थानीय स्रोत, समुदायको सक्रियता र राजनीतिक नेतृत्वको सहकार्यमा सञ्चालन भइरहेको ‘हाम्रो हरियाली अभियान’ले छपकैयालाई दिगो विकासतर्फ उन्मुख उदाहरणका रूपमा स्थापित गर्दै लगेको छ।