सप्तरीको सुरुङ्गा नगरपालिका–८ मल्हनवामा डाँका समूहको आक्रमणमा परी एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार ५० वर्षीय कान्तालाल चौधरीको डाँका समूहले गोली हानी हत्या गरेका छन् । उनका भाइ रामाकान्त चौधरी घाइते छन्। घाइते रामाकान्तलाई उपचारका लागि प्रादेशिक अस्पताल लहानमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
घटना शुक्रबार बिहान करिब १ बजे भएको हो। करिब ४–५ जनाको समूहमा आएका डाँकाहरूले चौधरीको घरमा लुटपाट गर्न थालेपछि घरधनीले प्रतिकार गरेका थिए। प्रतिकार गर्ने क्रममा सुरुमा धारिलो हतियार प्रयोग गरिएको र त्यसपछि गोली हानेर कान्तालालको हत्या गरिएको प्रहरीले जनाएको छ ।
दाजुको घरमा आक्रमण भएको आवाज सुनेर पुगेका रामाकान्तमाथि पनि डाँकाहरूले धारिलो हतियारले टाउको र ढाडमा प्रहार गरेका थिए ।
डाँका समूहले पाँच तोला सुन, दुई केजी चाँदी र करिब ५०–६० हजार रुपैयाँ नगद लुटेर फरार भएको स्थानीयले बताएका छन् ।
घटनाबारे जानकारी शुक्रबार बिहान १ः२० बजे प्राप्त भएको र त्यसपछि प्रहरी चौकी धातीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा एक टोली घटनास्थल पुगेको थियो ।
त्यसपछि इलाका प्रहरी कार्यालय कडरबोनाबाट प्रहरी निरीक्षकको नेतृत्वमा अर्को टोली र जिल्ला प्रहरी कार्यालयबाट समेत थप टोली खटाइएको थियो। घटनास्थलमा प्रहरीले नपड्किएको तीन राउन्ड गोली र एक राउन्ड गोलीको खोका बरामद गरेको छ ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।