चितवनको नारायणगढमा एक अटोचालकले क्यान्सरका बिरामीहरूलाई निःशुल्क सेवा प्रदान गर्दै आएका छन् । पर्सा जिल्लाको ठोरी गाउँपालिका–१ का २६ वर्षीय आकाश अर्यालले मानव सेवा भावनाले प्रेरित भई दैनिक रूपमा अटोमार्फत बिरामी र तिनका आफन्तलाई अस्पतालसम्म पुर्याउने कार्य गरिरहेका छन् ।
अर्यालले प्रत्येक दिन बिहान ७ बजेदेखि १० बजेसम्म नारायणगढको पुल्चोकबाट भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसम्म क्यान्सर पीडितलाई निःशुल्करूपमा पुर्याउने सेवा प्रदान गर्दै आएका छन् ।
विगत चार वर्षदेखि भरतपुरमा अटो चलाउँदै आएका उनले विशेषगरी पश्चिम नेपालबाट राति आएका बिरामीहरूको पीडा नजिकबाट बुझ्दै जाँदा यस्तो सेवा सुरु गर्ने निर्णय लिएको बताए ।
“कतिपय बिरामीहरू उपचारकै क्रममा आफ्नो सम्पत्ति गुमाएका, औषधि किन्न नसक्ने, खान र बस्नसमेत समस्या भएको सुनाउँथे,” अर्यालले भने, “मैले सोचें, मेरो सानो सहयोगले केही राहत मिल्छ भने किन नगर्ने ?”
गत मातातीर्थ औँसीदेखि उनले यो निःशुल्क सेवा सुरु गरेका हुन्। अर्यालले बिहानको समय रोज्नुको कारण पनि स्पष्ट पारे, “बिहान धेरै बिरामी टोकन लिन अस्पताल पुग्नुपर्ने हुन्छ, त्यसैले म बिहानको समय छुट्याएको हुँ ।”
आफ्नो दैनिक आम्दानीबाट समय निकालेर अर्यालले गरिरहेको यो कार्य सामाजिक उत्तरदायित्व र मानवीय सेवाको अनुपम उदाहरण बनेको छ ।
आकाश अर्यालको यो व्यक्तिगत प्रयासले देखाएको सामाजिक समर्पणले अन्यलाई पनि प्रेरणा मिल्नेछ भन्ने विश्वास गर्न सकिन्छ। समाज परिवर्तनका लागि साना कामहरूले पनि गहिरो प्रभाव पार्न सक्ने सन्देश उनले दिएका छन् ।