तालिममा प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि, वडाध्यक्षहरू र नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा नगरपालिकाका राजनीतिक सल्लाहकार बिपीन यादवले विशेषगरी कम उमेरका किशोर–किशोरीहरू लागुऔषधको लतमा फसिरहेको गम्भीर गुनासो राखे । “सानो उमेरका बालकसम्म यसमा फसिरहेका छन्, अब पनि हामी सचेत नभए भविष्य गम्भीर हुन सक्छ,” यादवले भने ।
उनले प्रहरीसहित सबै सरोकारवालाहरूलाई सक्रिय र सचेत हुनुपर्ने आवश्यकता औंल्याए । साथै, उनले प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुदर्शन अर्याललाई नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउने प्रक्रियामा सर्वसाधारणले भोगिरहेका समस्याबारे अवगत गराउँदै तिनको समाधानको माग राखे ।
सिडिओ अर्यालले नागरिकका गुनासोप्रति प्रशासन गम्भीर रहेको भन्दै तत्काल समाधानको प्रतिबद्धता व्यक्त गरे । “कुनै समस्या परे सिधै मलाई फोन गर्नुस्, म तुरुन्त समाधान गर्छु,” उनले जनाए ।
कार्यक्रममा पर्सा प्रहरी प्रमुख गौतम मिश्रले लागुऔषध प्रयोगकर्तामाथि कडा कारबाही गरिने चेतावनी दिए। उनले भने, “तपाईंहरूसँग सूचना छ भने दिनुस्, सेवनकर्तालाई कारबाही गर्ने जिम्मा मेरो हो ।”
सहभागीहरूबाट स्थानीय तह, सुरक्षा निकाय र समुदायबीचको समन्वयमा लागुऔषध दुरुपयोग नियन्त्रण गर्नुपर्ने सुझावहरू आएका थिए ।
कार्यक्रमको अध्यक्षता बहुदरमाइ नगरपालिकाका प्रमुख सिंगासन साह तेलीले गरेका थिए। कार्यक्रममा उपमेयर सुष्मा कुशवाहा, प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव, वडाध्यक्षहरू लगायतको सहभागिता रहेको थियो ।