मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत पश्चिम खण्डमा हालसम्म ५३ प्रतिशत काम सम्पन्न भएको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको ४१.5 किलोमिटर सडक खण्डमध्ये अधिकांश खण्डमा कालोपत्रे कार्य सम्पन्न भइसकेको छ ।
मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख कृष्णबहादुर कुँवरका अनुसार २४ किलोमिटर खण्डमा दुईतर्फी र १२.८ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकिएको छ । बाँकी तीन किलोमिटरमा एकतर्फी कालोपत्रे गर्न असार मसान्तसम्मको लक्ष्य राखिएको उनले जानकारी दिए । पश्चिम खण्डमा निर्माण भइरहेका १२ पुलमध्ये १० वटा सम्पन्न भइसकेका छन् भने १०० कल्भर्टमध्ये ९२ वटा सकिएका छन् । तथापि, ४२४ विद्युत् पोल अझै हटाउन बाँकी रहेको कारणले केही स्थानमा काममा ढिलाइ भएको योजना प्रमुख कुँवरले बताए ।
विशेष गरी तालचोक–आदर्शचोक र डाँडाको नाक–विजयपुर खण्डमा पोल हटाउन ढिलाइ हुँदा सडक विस्तार प्रभावित भएको छ । हाल विद्युत् प्राधिकरणले एक साताभित्र पोल हटाउने प्रतिबद्धता दिएकोले असार मसान्तभित्र कोत्रेदेखि सेती पुलसम्मको चार लेन काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
पश्चिम खण्डको निर्माण कार्य २०७८ जेठ ३ गते सम्झौतामार्फत सुरु भएको थियो । निर्माण कार्यको म्याद २०८२ पुस १६ गतेसम्म कायम गरिएको छ। यस खण्डको निर्माण ठेक्का एनहुई केयूएन हाइवे एन्ड ब्रिज कम्पनीले ७ अर्ब ४० करोड रुपैयाँमा पाएको हो । आयोजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ । कालोपत्रे लगभग सकिएको र मादी पुल आसपास र विमलनगर क्षेत्रमा मात्रै एकतर्फी कालोपत्रे बाँकी रहेको इञ्जिनीयर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।
दमौली बजार क्षेत्रमा पनि कालोपत्रे अन्तिम चरणमा पुगेको छ । यो खण्डको म्याद तेस्रो पटक थप भई आगामी २९ जेठसम्म कायम गरिएको छ। सो अवधिभित्रै सम्पूर्ण काम सम्पन्न हुने बताइएको छ ।
पूर्वी खण्डको ठेक्का चीनको चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीलाई दिइएको हो । सम्झौता २०७७ माघ १७ मा भई काम २०७८ वैशाख २ गतेदेखि सुरु गरिएको थियो। उक्त खण्डको लागत ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँ रहेको छ ।
मुग्लिन–पोखरा सडक विसं २०२६ सालमा रेखाङ्कन भएको हो । सवारीको चाप दिनानुदिन बढ्दै गएपछि एशियाली विकास बैंक (ADB) को ऋण सहयोगमा यो सडकलाई चार लेनमा विस्तार गर्ने निर्णय भएको हो। पूर्वाधार निर्माण सम्पन्न भएपछि उक्त सडक खण्डले गण्डकी प्रदेशको यातायात सञ्जालमा महत्वपूर्ण सहजता ल्याउने अपेक्षा गरिएको छ ।