नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग पार्टी एकताको विषयमा छलफल भइरहेको खुलासा गरेका छन् ।
मंगलबार खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवादी मोर्चामा आवद्ध दलहरूसँग एकता गरी माओवादीलाई आगामी निर्वाचनमा पहिलो शक्ति बनाउने रणनीति अघि बढाइएको बताए । उनले भने, “पार्टी एकताको सन्दर्भमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपासँग निरन्तर छलफल चलिरहेको छ । समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान हामीले विगतका कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेका छौं ।”
प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिमा वैचारिक ध्रुवीकरण अपरिहार्य भएको उल्लेख गर्दै त्यसैअनुसार कार्यगत एकता र सांगठनिक विस्तारलाई प्राथमिकता दिएको बताए। उनले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा निरन्तर लागिपरेको पनि बताए ।
जसपाका नेता माओवादी प्रवेशमा
उक्त कार्यक्रममा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देवीकृष्ण न्यौपानेसहित जसपाका दर्जनौं नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
प्रचण्डले माओवादी प्रवेश गरेका नेताहरुलाई पार्टीभित्र उचित जिम्मेवारी दिने स्पष्ट संकेत समेत गरेका छन् ।