अस्ट्रियाको ग्राजस्थित एक माध्यमिक विद्यालयमा भएको गोलीकाण्डमा ११ जनाको ज्यान गएको छ ।
मंगलबार बिहान बर्ग ड्रायर्सुट्जेनगासे स्कुलमा अन्धाधुन्ध गोली चलाउँदा यो भीषण घटना भएको हो । २१ वर्षीय युवक आर्टुर ए. नाम गरेका एक पूर्वविद्यार्थीले बिहान १० बजे विद्यालय प्रवेश गरी दुई वटा कक्षाकोठामा अन्धाधुन्ध गोली चलाएका थिए। उनले १० जनाको घटनास्थलमै हत्या गरेका थिए भने धेरै विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या ११ पुगेको हो ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार आर्टुर ए. विद्यालयमा अध्ययन गर्दाको समयमा होच्याउने, जिस्क्याउने जस्ता व्यवहारको सिकार भएका थिए । प्रारम्भिक अनुसन्धान अनुसार उनी घटनामा एक्लै संलग्न थिए ।
गोली चलाएपछि उनी शौचालयमा मृत अवस्थामा फेला परेका थिए । रोयटर्सका अनुसार उनले आफूलाई गोली हानेर आत्महत्या गरेका थिए । घटनास्थलबाट दुईवटा हतियार र एउटा चिठी फेला परेको छ जसमा उनले आफ्ना अभिभावकलाई बिदाइ सन्देश लेखेका थिए ।
घटनापछि विद्यालय परिसरमा करिब ३०० सुरक्षाकर्मी र आपतकालीन सेवाका टोली परिचालन गरिएको थियो । घाइतेहरूलाई तत्काल नजिकैको अस्पताल पुर्याइएको थियो ।
अस्ट्रियाका चान्स्लर क्रिश्चियन स्टकरले घटनालाई "देशको इतिहासमै कालो दिन" भन्दै तीन दिनको राष्ट्रिय शोक घोषणा गरेका छन् । जर्मन चान्स्लर फ्रेडरिक मर्जसहित विभिन्न अन्तर्राष्ट्रिय नेताहरूले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
यसअघि सन् २०२० मा भियनामा एक जिहादी हमलामा ४ जनाको मृत्यु र २२ जना घाइते भएका थिए भने सन् १९९७ मा माउटनफोर्डमा एक व्यक्तिले ६ जनाको हत्या गरी आत्महत्या गरेका थिए । तर ग्राजको यो गोलीकाण्ड अस्ट्रियाको इतिहासमै सबैभन्दा ठूलो मानिएको छ ।