पोखरिया नगरपालिका वडा नम्बर ६ स्थित श्रीर्सियाकाे मुख्य सडक नालाको फोहोर पानीले डुबानमा परेको छ ।
समयमा निर्माण सम्पन्न नहुनु र नगरपालिकाले हालै जारी गरेको कार्यादेश रोक्का सूचनाले समस्या झनै गम्भीर बनाएको छ । सडक जलमग्न हुँदा स्थानीयको दैनिकी प्रभावित भएको छ भने दुर्घटनाको जोखिम पनि बढेको छ ।
स्थानीय बासिन्दाका अनुसार सडकमा हिँड्नै नसकिने अवस्था छ । बच्चादेखि वृद्धवृद्धासम्म सबैलाई आवतजावतमा कठिनाइ भएको छ । स्थानीय मनोज पासवान भन्छन्, “बच्चाहरू स्कूल जान सक्दैनन् । कसैलाई अस्पताल लैजानु परे गाडी आउँदैन । यो शहर होइन, जेल हो जस्तो लाग्न थालेको छ ।”
जेठ १२ गते पोखरिया नगरपालिकाले सूचना जारी गर्दै बजेट अभावका कारण निर्माण कम्पनीहरूलाई हाल काम नगर्न निर्देशन दिएको छ । सूचनामा भनिएको छ, “हालसम्म कार्यादेश लिएका तर काम प्रारम्भ नगरेका कम्पनीहरूले कार्य प्रारम्भ नगर्नु, कोषमा रकम अभाव भएकाले हालका लागि कुनै पनि निर्माणको भुक्तानी दिन सकिँदैन ।”
यस सूचनासँगै निर्माण कम्पनीहरूले सडक निर्माणको काम रोकिदिएका छन् । एक निर्माण कम्पनीका प्रतिनिधिले भने, “यदि काम गर्यौँ भने पनि भुक्तानी कहिले र कसरी आउँछ भन्ने ग्यारेन्टी छैन ।”
वडा नं. ६ का अध्यक्ष शियानन्द चौहानले भने, “कम्पनीहरूलाई पटक–पटक सम्पर्क गरेका छौं । तर उनीहरूले भनेका छन्— ‘कार्य सम्पन्नपछि भुक्तानी हुन्छ भन्ने ग्यारेन्टी दिनुहोस्, अनि मात्रै काम गर्छौं।’ यही हो समस्या ।”
२०७९/८० मा पोखरिया नगरपालिकाको कुल बजेट झण्डै ५० करोड रुपैयाँ थियो । तीमध्ये २० करोड रुपैयाँ पूर्वाधार निर्माणमा छुट्याइएको जनाइएको थियो । यद्यपि, श्रीर्सियाकाे सडक निर्माण समयमा नहुनु र बजेट अभावको बहानाले पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ ।
समाजसेवी लक्ष्मण राउत भन्छन्, “हामी सडक मागिरहेका छौं, महल होइन । कुनै नेता वा अफिसरको घर डुबेको भए, तीन दिनमै काम हुने थियो।” उनका अनुसार स्थानीयले अब राजनीति होइन, सिधा समाधान चाहेका छन् ।