गुजरातको अहमदाबादमा आज दिउँसो हवाई दुर्घटना भएको छ ।
लन्डनका लागि उडान भरेको एयर इन्डियाको Boeing 787-8 Dreamliner विमान टेकअफ पछि मेघानीनगरस्थित बस्ती क्षेत्रमा क्र्यास भएको हो । विमानमा २३० यात्रु र १२ चालक दलका सदस्यसहित २४२ जना सवार थिए । प्रारम्भिक जानकारी अनुसार विमान ११ वर्ष पुरानो थियो र उडान भरिसकेपछि केही मिनेटमै दुर्घटनाग्रस्त भएको बताइएको छ। क्र्यासपछि विमानमा ठूलो आगलागी भएको र त्यसबाट उत्पन्न धुवाँ टाढा–टाढासम्म देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । दमकलका सात गाडी घटनास्थलमा परिचालन गरिएको छ । अग्निशमन अधिकारी जयेश खडियाले घटनापछि विमानमा आगो लागेको पुष्टि गरेका छन् ।
स्टेट पुलिस कन्ट्रोल रूमको पुष्टि
गुजरात राज्य प्रहरी कन्ट्रोल रूमले घटनाको पुष्टि गर्दै उद्धार कार्य तीव्र रूपमा जारी रहेको जानकारी दिएको छ । अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले विमान खसेको क्षेत्रलाई पूर्ण रूपमा सुरक्षा घेारामा राखिएको र बस्ती खाली गराइँदै गरेको जानकारी दिएका छन् ।
एयर इन्डियाको आधिकारिक वक्तव्य
एयर इन्डियाका प्रवक्ताले सामाजिक सञ्जाल एक्स (Twitter) मार्फत घटनाको पुष्टि गर्दै भनेका छन् :
"हाम्रो AI-171 विमान, जुन अहमदाबादबाट लन्डनका लागि उडानमा थियो, दुर्भाग्यवश टेकअफ पछि दुर्घटनामा परेको छ । हाम्रो प्राथमिकता सबै यात्रु र चालक दलको सुरक्षामा केन्द्रित छ। उद्धारका लागि हामी सम्बन्धित निकायहरूसँग समन्वयमा छौँ ।"
गृहमन्त्री अमित शाहले जानकारी लिएका छन्
भारतका गृहमन्त्री अमित शाहले घटनाको गम्भीरता बुझ्दै गुजरातका मुख्यमन्त्री र अहमदाबादका प्रहरी आयुक्तसँग प्रत्यक्ष सम्पर्क गरेर सम्पूर्ण विवरण लिएका छन् । उनले केन्द्र सरकारको तर्फबाट सबै प्रकारको सहयोग उपलब्ध गराउने आश्वासन दिएका छन् ।
घटनास्थलबाट कैयौं वीडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्, जसमा आगोको मुस्लो, धुवाँ, उद्धार कार्य र स्थानीयको त्रास स्पष्ट देखिन्छ ।