स्रोत नखुलेको ठूलो रकमसहित एक युवक पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सिमरा चौकदेखि एयरपोर्टतर्फ जाँदै गरेका एक युवकलाई चेकजाँच गर्दा जम्मा १३ लाख ७ हजार ५ सय रुपैयाँसहित पक्राउ गरिएको हो ।
पक्राउ पर्ने व्यक्ति पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ का २० वर्षीय सुरज कुश्वाहा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। उनलाई सिमरा उपमहानगरपालिका–२, एयरपोर्ट रोडमा कालो रंगको झोला बोकी शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरी नायव उपरीक्षक बेद प्रकाश जोशीको नेतृत्वमा खटिएको टोलीले झोलाको चेकजाँच गर्दा नेपाली हजार दरको १,०६७ थान, पाँच सय दरको ४८० थान, र सय दरको ५ थान गरी कुल १३ लाख ७ हजार ५ सय रुपैयाँ फेला पारेको जानकारी दिएको छ।
हुण्डी कारोबारको संकेत
पक्राउ परेका कुश्वाहाको साथबाट विभिन्न बिल, भौचर र सागर मनि ट्रान्सफर बीरगञ्ज लेखिएको स्टाम्प समेत बरामद भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट यसलाई हुण्डी कारोबारसँग सम्बन्धित गतिविधि भएको शंका गरिएको छ । हाल घटनासम्बन्धी हुण्डी कारोबार शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
प्रहरीको निगरानी कडाइ
पछिल्लो समय अवैध वित्तीय कारोबार नियन्त्रण गर्न प्रहरीले निगरानी कडा बनाएको छ। विभिन्न नाकाबाट हुने स्रोत नखुलेको नगद ओसारपसार तथा मनी लन्डरिङका गतिविधिहरू नियन्त्रण गर्ने उद्देश्यले चेकजाँच अभियान तीव्र बनाइएको छ।