राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीकै नेतृत्वमा संगठित लुटतन्त्र चलाइएको गम्भीर आरोप लगाएका छन् ।
संसदको शुक्रबारको बैठकमा बोल्दै सांसद झाले गृहमन्त्रालय, कर्मचारी र सरोकारवालाहरू सबै मिलेर मानव तस्करीजस्तो अपराधमा संलग्न भएको दाबी गरे ।
“२०८१ सालको कात्तिकदेखि २०८२ बैशाखसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृहमन्त्रालयलाई नौपटक पत्र काट्यो, तर कसैले चासो दिएन,” उनले भने, “अब आएर कागजमा इमान्दारिता लेख्दैमा त्यो व्यवहार पुष्टि हुँदैन। जब अख्तियारले धावा बोल्न लाग्यो, तब आफ्ना कर्मचारीहरूलाई रातारात किन तानियो ?”
सांसद झाले संसदमा हिन्दी कविता सुनाउँदै आफ्ना नेतामाथि (रवि लामिछाने) राजनीतिक प्रभावका कारण सरुवा रोकिएको उल्लेख गरे ।
“हामीमाथि आरोप लागिरहेको छ—चोरलाई किन चोर भन्यौं भनेर। हामी जनप्रतिनिधि भएर पनि मानव तस्करीजस्तो गम्भीर अपराधबारे बोल्न नपाउने ?” उनले प्रश्न गरे। उनले भिजिट भिसाको नाममा नेपाली नागरिकहरू ठगिएको र त्यसको पछाडि सत्ताको संरक्षण रहेको आरोप लगाए ।
“यो सबै गृहमन्त्रीको नेतृत्वमा भएको संगठित लुटतन्त्र हो,” उनले दाबी गरे ।
सांसद झाले राष्ट्रिय स्वतन्त्र पार्टीले उठाउँदै आएको मागलाई संसदमा निरन्तर साथ दिएकामा सबै प्रतिपक्षी दलप्रति आभार पनि व्यक्त गरे ।
“१८ दिनदेखि ११ वटा बैठक अवरुद्ध गरेर हामीले न्यायको आवाज उठायौं। जबसम्म उच्चस्तरीय छानबिन समिति गठन हुँदैन, ठगीमा परेकाहरूलाई न्याय मिल्दैन, र सन्तोषजनक जवाफ आउँदैन, हाम्रो आन्दोलन जारी रहनेछ,” उनले चेतावनी दिए ।