सशस्त्र प्रहरीले स्रोत नखुलेको १८ लाख रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
भारतबाट मोटरसाइकलमार्फत नेपाल प्रवेश गर्ने क्रममा उनीहरूलाई वीरगंज–१६ स्थित भन्सार क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–२ छपकैयाका २१ वर्षीय राहुल कुमार तिवारी र बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ का ४० वर्षीय कौशल कुमार गुप्ता रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा भन्सार नजिकै उनीहरूलाई रोकी खानतलासी गर्दा उक्त रकम फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
तिवारीको साथबाट बीआर ०५ एटी ०४७५ नम्बरको मोटरसाइकलमा १३ लाख रुपैयाँ फेला परेको छ भने गुप्ताको साथबाट ना ४६ प ९७१० नम्बरको मोटरसाइकलमा ५ लाख रुपैयाँ फेला परेको हो । बरामद रकममध्ये एक हजार दरका १ हजार ८२ थान र पाँच सय दरका १ हजार ४ सय ३६ थान नोट रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूले उक्त रकमको वैधानिक स्रोत खुलाउन नसकेकोले उनीहरूलाई रकमसहित वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यस घटनालाई हुण्डी वा अन्य अवैध कारोबारसँग सम्बन्धित हुन सक्ने आशङ्कामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।