जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका निमित्त प्रमुख डा. नवलकिशोर झा संवेदनशील समयमा कार्यालय छाडेर सम्पर्कविहीन बनेका छन् ।
अर्थ मन्त्रालयबाट सरुवा भएर आएका लेखापाल ज्ञानेन्द्रकुमार यादव कार्यालयमा हाजिर गराउन पुगेको दिन डा. झा अचानक कार्यकक्ष छाडेर हिँडेका हुन् । बिहीबार मन्त्रालयको औपचारिक सरुवा पत्रसहित कार्यालय पुगेका लेखापाल यादव हाजिर प्रक्रिया थाल्न डा. झाको कार्यकक्षमा पुगेका थिए। तर, प्रक्रिया सुरु नहुँदै डा. झा चुपचाप कार्यकक्ष छाडेर बाहिरिएका थिए । उनी चस्मा र कार्यालयको साँचो टेबलमै छोडेर हिँडेका थिए भने मोबाइलसमेत स्विच अफ अवस्थामा छ ।
डा. झा सम्पर्कविहीन भएपछि कार्यालयमा वरिष्ठता क्रमअनुसार दोस्रो वरियतामा रहेका तथ्यांक अधिकृत लालबाबु रायले लेखापाल यादवलाई हाजिर गराएका छन् ।
यसअघि जिल्ला स्वास्थ्य कार्यालयको लेखा सम्बन्धी काम जिल्ला प्रशासन कार्यालयका लेखापाल रामगणेश यादवले हेर्दै आएका थिए । अर्थ मन्त्रालयले असार मसान्तमा लेखापाल यादवको सरुवा गरी स्वास्थ्य कार्यालयमा खटाएको हो । यस्ता संवेदनशील समयमा प्रमुख अधिकारी सम्पर्कविहीन हुनुले प्रशासनिक प्रक्रियामा अवरोध सिर्जना भएको भन्दै स्वास्थ्यकर्मीहरूबीच चिन्ता व्यक्त गरिएको छ ।