राजविराज नगरपालिकामा कर्मचारीहरूबीच कार्यस्थलमा फर्किने वा नफर्किने भन्ने विषयमा तीव्र मतभेद देखिएको छ ।
एक पक्षले सुरक्षाको प्रत्याभूति नभएसम्म काममा नफर्किने अडान लिएको छ भने अर्को पक्षले नियमित कार्यालय सञ्चालन हुनुपर्ने माग गर्दै दबाब दिन थालेको छ । यसले गर्दा नगरपालिकाको कामकाज अस्तव्यस्त बनेको छ भने सेवाग्राहीहरू प्रभावित भएका छन् । राजविराज नगरपालिका कर्मचारी इकाई समिति अध्यक्ष कल्पना देव, लेखापाल सत्रुधनप्रसाद दाससहितको समूहले सुरक्षाको ग्यारेन्टी नभएसम्म कार्यस्थलमा नफर्किने स्पष्ट पारेका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष देवले कर्मचारीमाथिको कुटपिट, लुटपाटमा संलग्न व्यक्तिहरूलाई कानूनी कारबाही गर्नुपर्ने, लुटिएको सुनको सिक्री फिर्ता गरिनुपर्ने र घाइते कर्मचारीको उपचार खर्च सरकारले ब्यहोर्नुपर्ने माग राखेकी छिन् ।
यसैबीच, कर्मचारी इकाई समितिका अध्यक्ष पदका प्रत्यासी ज्योतिष यादवको नेतृत्वमा रहेको अर्को समूहले भने कामकाज नियमित गर्नुपर्ने मागसहित प्रमुख जिल्ला अधिकारी भोला दहाललाई ज्ञापनपत्र बुझाएको छ । यादव पक्षले हालको इकाई समिति विघटनको प्रक्रियामा रहेको भन्दै पुरानो समितिको निर्णयप्रति आपत्ति जनाएको छ ।
ज्ञापनपत्रमा आन्दोलन, बन्द, हडताल र जनप्रतिनिधिबीचको गतिविधिले नगरपालिका असहज स्थितिमा पुगेको उल्लेख गरिएको छ । साथै, कर्मचारीहरूबीचको मतभेद झनै चर्किन थालेको र यसले प्रशासनिक गतिविधिमा प्रतिकूल असर परेको भनिएको छ ।
यसअघि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले स्थायी इञ्जिनियरलाई हाजिरी र तलब दिने निर्णय गर्दै आन्दोलन स्थगन गर्ने निर्णय गरेको थियो । तर जेष्ठ २९ गतेको इकाई समितिको बैठकमा हातपातमा संलग्न नभएकालाई पनि कार्यवाहीको माग गरिँदा झन् मतभेद चुलिएको छ ।
यस आन्दोलन र प्रशासनिक अन्योलका कारण नगरपालिकाको नियमित सेवा प्रभावित बनेको छ भने सर्वसाधारण सेवाग्राहीहरू मर्कामा परेका छन् ।