पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ ।
काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको यात्रुवाहक बसलाई गए राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिएका छन् । उनका अनुसार विनयी खोलाको नयाँ डाइभर्सन हुँदै बस गुडिरहेको अवस्थामा एक्कासी आएको बाढीले बस बगाएको हो । “नयाँ डाइभर्सनबाट आउँदै गर्दा बाढीले बस बगाएको हो,” प्रहरी निरीक्षक तिमिल्सेनाले भने, “तत्काल एक्साभेटरको सहयोगमा सबै यात्रुको सकुशल उद्धार गर्न सफल भयौँ ।”
बसमा तीन जना शिशुसहित ३८ जना यात्रु सवार थिए । लगातारको वर्षाका कारण खोलामा पानीको बहाव बढेपछि बस बगाएको र यात्रुको सामाग्री के कति बगायो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।
वर्षाका कारण खोलाबाट बस निकाल्न नसकिएको र नारायणघाट–बुटवल सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको जनाइएको छ । दाउन्ने क्षेत्रमा सडक हिलाम्य बनेका कारण सवारीसाधन आवागमन ठप्प भएको छ ।
प्रहरी निरीक्षक तिमिल्सेनाले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छन् ।