गत शुक्रबारदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडक अझै खुल्न सकेको छैन । लगातार झरिरहेको सुक्खा पहिरोका कारण कालीगण्डकी गाउँपालिका–१ अन्तर्गत हर्मीचौर–अर्बेनी सडकखण्डको गरगरे क्षेत्रमा सडक पूर्ण रूपमा बन्द भएको हो ।
सडक अवरुद्ध हुँदा कालीगण्डकी गाउँपालिका केन्द्र पुर्तिघाट जाने तथा पुर्तिघाट हुँदै बुटवलतर्फ जाने सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् । लामो समयदेखि सडक अवरुद्ध भएपछि यात्रु र स्थानीयवासी दुवै थप समस्यामा परेका छन् ।
कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले पहिरोग्रस्त क्षेत्रमा तीनवटा डोजर तयारी अवस्थामा राखिएको भए पनि लगातार पहिरो खसिरहेकाले सडक खुलाउन कठिन भएको जानकारी दिए ।
“सडकभन्दा धेरै माथिबाट लगातार सुक्खा पहिरो खसिरहेको छ,” अध्यक्ष थापाले भने, “नागरिकले पटक–पटक सडक कहिले खुल्छ भनेर सोधिरहनुभएको छ, तर हामीसँग पनि जवाफ दिन सक्ने अवस्था छैन ।”
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै प्रहरी टोलीलाई पहिरोग्रस्त क्षेत्रमा खटाइएको जानकारी दिए ।
उनले भने, “यात्रीलाई हर्मीचौरको माथिबाट देउराली हुँदै अर्बेनीकोटसम्म वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छौँ ।”
उनका अनुसार आज ९आइतबार० केलुकीसम्म पनि पहिरो नरोकिएकाले सडक सञ्चालनमा आउन नसक्ने अवस्था छ ।
सडक बन्द हुँदा खाद्यान्न आपूर्ति, स्वास्थ्य सेवा, विद्यालय तथा दैनिक आवतजावतमा समेत असर परेको स्थानीयको गुनासो छ ।