देशको केन्द्रीय राजधानी काठमाडौंलाई बागमती प्रदेशको राजधानी हेटौँडासँग जोड्ने सडकमध्ये टीकाभैरव–हेटौँडा सडक (कान्ति लोकपथ) पछिल्लो समय सबैभन्दा बढी प्रयोगमा आएको सडक बनेको छ । बीपी राजमार्गमा आएको समस्या र असुरक्षाका कारण पूर्व–पश्चिम आवतजावत गर्ने सवारी साधनले विकल्पका रूपमा यस सडक प्रयोग गर्न थालेका छन् ।
बाढीको जोखिम बढेपछि बीपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ५ः३० बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । यस्तोमा वैकल्पिक मार्गका रूपमा टीकाभैरव–हेटौँडा सडक प्रयोग गर्नेको संख्या बढ्दो छ ।
तर, यो सडक पूर्ण रूपमा सुरक्षित भने छैन । टीकाभैरवदेखि भिमफेदीको बागमती पुलसम्मको खण्डमा ठाउँ–ठाउँमा पहिरो खस्ने र सवारी साधन हिलोमा फस्ने समस्या देखिएको छ । पानी परेपछि सडक चिप्लो हुने, घना हुस्सु लाग्ने र दृश्यता (भिजिबिलिटी) कम हुने समस्या पनि रहेको छ ।
भिमफेदीदेखि मकवानपुरगढीसम्मको खण्डमा भने सुख्खा पहिरो र ढुंगा खस्ने घटनाहरू भइरहेका छन् । त्यस्तै, बाटो सुधारको काम पनि जारी रहेकाले निर्माणाधीन ठाउँहरूमा सवारी साधन चलाउन सावधानी अपनाउनु पर्ने देखिएको छ ।
यस्तोमा यातायात सुरक्षालाई ध्यान दिँदै सम्बन्धित निकायहरूले सडक मर्मत, पहिरो व्यवस्थापन र सूचना प्रवाहमा अझ सक्रियता देखाउन आवश्यक देखिन्छ ।