इरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित मिसाइल आक्रमण गरेपछि मङ्गलबार इजरायल र इरान दुवैले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम योजना स्वीकार गरेका छन् । युद्धविरामले मध्यपूर्वमा १२ दिनदेखि चलिरहेको उथलपुथलपूर्ण युद्धको अन्त्य गर्नेछ ।
युद्धविराम घोषणा हुनुअघि तेहरानले इजरायलमाथि अन्तिम मिसाइल आक्रमण गरेको थियो, जसमा कम्तीमा ४ जनाको मृत्यु भएको र ८ जना घाइते भएको इजरायली उद्धार संस्था मागेन डेभिड आदोम (MDA) ले जनाएको छ । इरानको आक्रमणपछि इजरायलले समेत तेहरान लगायत इरानभरका धेरै स्थानमा हवाई आक्रमण गरेको थियो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार राति आफ्नो सुरक्षा क्याबिनेटलाई जानकारी दिँदै इरान विरुद्धको १२ दिने सैन्य अपरेसनमा आफ्ना सबै रणनीतिक लक्ष्यहरू प्राप्त भइसकेको बताएका छन् । उनले इरानको आणविक र ब्यालिस्टिक मिसाइल क्षमतामा चोट पुर्याएको, सैन्य नेतृत्व र सरकारी संरचनालाई ध्वस्त तुल्याएको र तेहरानको आकाशमा नियन्त्रण हासिल गरिएको दाबी गरे ।
उनले भने, “इजरायलले युद्धविरामको कुनै पनि उल्लङ्घन गरेमा कडा प्रतिक्रिया दिनेछ ।”
इजरायली हवाई आक्रमणहरू स्थानीय समय अनुसार बिहान ४ बजे सम्म जारी थिए भने इरानी आक्रमणले इजरायलीहरूलाई बम आश्रयतर्फ भाग्न बाध्य बनाएको थियो ।
ट्रम्पले इरानी आक्रमण रोकिएको एक घण्टा पछाडि आफ्नो ‘ट्रुथ सोसल’ खातामा लेख्दै भनेका छन्, “युद्धविराम अब प्रभावमा छ। कृपया यसलाई उल्लङ्घन नगर्नुहोस् !”
इरानी राज्य टेलिभिजनले युद्धविराम बिहान ७ः३० बजेबाट लागू भएको पुष्टि गरे पनि इरानी अधिकारीहरूले तत्काल कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् । केही समयअघि मात्र इरानका शीर्ष कूटनीतिज्ञले युद्ध अन्त्यका लागि आफूहरू तयार रहेको संकेत गरेका थिए ।
यद्यपि, इरानी विदेशमन्त्री अब्बास अराघचीले एक्स (पूर्व ट्विटर) मा लेखेका छन्, “अहिलेसम्म कुनै औपचारिक सम्झौता भएको छैन । यदि इजरायली शासनले हाम्रा नागरिकमाथिको आक्रमण रोकेको खण्डमा हामी पनि थप प्रतिक्रिया जनाउनेछैनौं। तर हाम्रो अन्तिम निर्णय पछि गरिनेछ ।”