वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईका अनुसार नतिजा प्रकाशनका लागि अन्तिम तयारी तीव्र गतिमा भइरहेको छ ।
उनले उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम सकिएपछि हाल प्राप्ताङ्क इन्ट्री र रुजु गर्ने काम भइरहेको जानकारी दिए । "हामीले असारको तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी डेटलाइन तयार गरेका हौँ," भट्टराईले भने, "कर्मचारी साथीहरूले डबल सिफ्टमा तीव्र गतिले काम गरिरहनुभएको छ । काम छिटो सकियो, प्रविधिले साथ दियो भने तेस्रो सातादेखि अगाडि नै नतिजा सार्वजनिक गर्न सकिन्छ । त्यसैका लागि दिनरात काम भइरहेको छ ।"
एसईई नतिजा असार ६ गतेभित्र सार्वजनिक गर्नेगरी प्रारम्भिक कार्यतालिका बनेको थियो । तर, २०८१ सालको चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकहरूले काठमाडौँमा गरेको आन्दोलनका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको हो ।
गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।