मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीको सचिवालय बैठकमा प्रदेश सरकार छाड्नुपर्ने प्रस्ताव पेस भएको छ ।
पार्टीका सचिव बीपी साहले पार्टी नीति तथा जनताको भावना विपरीत सरकारको कार्यशैली रहेकाले त्यसबाट बाहिरिनुपर्ने प्रस्ताव राखेका हुन् । सचिव साहका अनुसार सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै पार्टीको वैचारिक र राजनीतिक दृष्टिकोणसँग मेल नखाने अवस्थाका कारण आफूले उक्त प्रस्ताव राखेका हुन् ।
उनले भने, “पार्टीको नीति र जनताको भावना बमोजिम काम गर्न नसकेकाले प्रदेश सरकार छोड्नुपर्ने प्रस्ताव सचिवालयमा पेस गरेको हुँ । अध्यक्षज्यूले उक्त प्रस्ताव कार्यकारिणी समितिमा छलफल हुने बताएका छन् ।”
पार्टी भित्र सरकारमा बसिरहनु उचित नहुने भन्ने मत बढ्दै गइरहेका बेला सचिवालयमै औपचारिक रूपमा सरकारबाट बाहिरिने प्रस्ताव पेस भएपछि जनमत पार्टीको आन्तरिक निर्णय प्रक्रियामा नयाँ मोड आएको छ ।
अब उक्त प्रस्ताव पार्टी कार्यकारिणी समितिमा छलफलपछि अन्तिम निर्णय लिइने बताइएको छ ।