भारतसँग सीमा जोडिएको पर्सा जिल्लाको ठोरी गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित होटलहरूमा भइरहेको यौन व्यवसाय विरुद्ध स्थानीय महिलाहरू स्वयं संगठित भएर प्रतिवादमा उत्रिएका छन् ।
प्रहरी प्रशासनले चासो नदिएको गुनासो गर्दै महिलाहरूले आफ्नै पहलमा होटलहरूमा भइरहेको अवैध यौन धन्दाविरुद्ध प्रतिवाद गरेका छन् ।
वडा नम्बर २, ३ र ४ का खाजा–नास्ता होटलहरूमा भारतकाे बिहारबाट आउने ग्राहक लक्षित गरी यौन धन्दा सञ्चालन भइरहेको स्थानीयको आरोप छ । उक्त गतिविधिले समाजमा गलत असर पारिरहेको र महिलाहरूको सुरक्षामा समेत चुनौती थपिएको भन्दै महिलाहरूलाई लखेटेकाे हाे ।
ठोरी–४ आठघरेका महिला समूहले स्थानीय होटलहरूमा लामो समयदेखि सञ्चालनमा रहेको यौन व्यवसायको खुला रूपमा विरोध गर्दै, सो कार्यमा संलग्न पुरुषहरूलाई पिटेर लखेटेका छन् । महिलाहरूले प्रहरीलाई पटक–पटक उजुरी दिँदा पनि कुनै ठोस कदम नचालिएको भन्दै आफै लखेटेका छन् ।
आक्रोशित महिलाहरूको टोलीले ईलाका प्रहरी कार्यालय, ठोरीमा पुगेर सामूहिक उजुरी समेत दर्ता गरेका थिए, तर कुनै कारबाही नभएपछि उनीहरू स्वयं संगठित भएर गलत कार्यमा संलग्न व्यक्तिहरूमाथि कारबाही गर्न अग्रसर भएको आठघरे महिला समूहकी एक सदस्य बताएकी छन् ।
उनका अनुसार “हाम्रो गाउँमा यस्तो गलत कामले छोरीचेली र समुदायको इज्जत मै धक्का पुगेको छ। प्रहरी प्रशासन मौन बसिरहँदा हामीले आफैं त्यस्ता व्यक्तिहरूलाई लखेट्नु परेको हो ।”
यस्तो व्यवसायले गाउँको सामाजिक संरचना, सुरक्षा र सामाजिक वातावरणमा गम्भीर असर पर्छ । यस्ता अवैध गतिविधिमाथि पूर्ण रूपमा रोक लगाउन प्रहरी प्रशासनसँग उनिहरूले पुनः माग गरेका छन् ।
भिडियाे सामाग्री