मुस्लिम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व मोहर्रम अन्तर्गत असार २२ गते आइतबार वीरगन्जमा निकालिने ‘ताजिया’ (दाहा) शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा संयन्त्र र स्थानीय सरकार सतर्क बनेका छन् । वीरगन्ज महानगरपालिका, जिल्ला सुरक्षा निकायका प्रमुख तथा मुस्लिम समुदायका अगुवाबीच बिहीबार सम्पन्न समन्वय बैठकले ‘ताजिया’लाई व्यवस्थित, मर्यादित र सौहार्दपूर्ण ढंगले सम्पन्न गराउन विभिन्न ६ बुँदे निर्णय गरेको हो ।
बैठकमा ताजियाका लागि प्रमुख ६ निर्णयहरू यसप्रकार छन् .
- असार २२ गते वीरगंजका विभिन्न वडाबाट निकालिने ताजियालाई घण्टाघरमा जम्मा हुन दिने ।
- प्रत्येक वडाबाट निकालिने ताजियाका लागि संयोजन टोली गठन गरी असार २० गतेभित्र जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउने ।
- ताजिया निकाल्दा हतियार तथा डिजे प्रयोग पूर्ण रूपमा निषेध गर्ने ।
- बालबालिकालाई ताजियामा सहभागी नगराउने ।
- जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने कुनै पनि गतिविधि नगर्ने/नगराउने ।
- वीरगंज महानगर प्रमुख राजेशमान सिंहको संयोजकत्वमा मुस्लिम समुदायका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरू सम्मिलित अनुगमन समिति गठन गर्ने ।
ताजियाका दिन कार्यक्रमको सम्पूर्ण सुरक्षा व्यवस्था स्थानीय प्रहरी प्रशासनले मिलाउने पनि निर्णय भएको छ । गत चैत २८ गते हनुमान जयन्तीको शोभायात्रामा वीरगन्जमा देखिएको तनावपूर्ण अवस्था दोहोरिन नदिन स्थानीय प्रशासन, सुरक्षा निकाय र समुदायले विशेष सतर्कता अपनाएका छन् । धार्मिक सद्भाव र आपसी समझदारीलाई कायम राख्दै मुस्लिम समुदायको यस महत्वपूर्ण पर्वलाई सफल बनाउने उद्देश्यले संयुक्त तयारी गरिएको हो ।