सर्लाहीको मलंगवामा निर्माण हुन लागेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको नयाँ कार्यालय भवनको शुक्रबार विधिवत् शिलान्यास गरिएको छ । मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले एक समारोहका बीच भवनको शिलान्यास गर्नुभएको हो ।
कार्यक्रम विज्ञ केन्द्र मलंगवाका निमित्त कार्यालय प्रमुख उपेन्द्र सिंहको अध्यक्षतामा सम्पन्न भयो । २ करोड ८८ लाख रुपैयाँको लागतमा निर्माण हुने उक्त भवन अढाइ तले हुनेछ, जसमा १४ वटा कोठाहरू रहने छन् । निर्माण कार्यको जिम्मेवारी काया आकाश जेभी निर्माण सेवा मलंगवा–११ गम्हरियालाई दिइएको छ। २०७९/८० मा सम्झौता भई, २०८३ सालको असार मसान्तभित्र भवन निर्माण पूरा गरी कार्यालयलाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ ।
विशिष्ट उपस्थितिका साथ सम्पन्न समारोह
शिलान्यास समारोहमा मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर राय, प्रदेश सांसद जंगिलाल राय, प्रदेश दुग्ध विकास बोर्ड अध्यक्ष शम्भु साह, कृषि ज्ञान केन्द्र प्रमुख कमलदेव कुशवाहा, नेपाली काँग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पति श्रेष्ठ र काँग्रेस सर्लाही सभापति सुरेन्द्र प्रसाद सिंह लगायतको उपस्थिति थियो ।
योगदानकर्तालाई सम्मान
सो अवसरमा विज्ञ केन्द्र मलंगवाले सेवानिवृत्त कर्मचारी तथा पशुसेवा क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान पनि गर्यो ।
सेवानिवृत्त अधिकृत छैठौं रामजी राय यादव, पशु चिकित्सक सुरेन्द्र भारती (लालबन्दी), र अधिकृत छैठौं राम एकवाल साह (बागमती) लाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरियो।
त्यस्तै, कृतिम गर्भाधारण सेवा प्रभावकारी रूपमा सञ्चालन गर्ने
श्यामसुन्दर राय (मलंगवा)
जगरनाथ लामा (हरिवन)
र निजी क्षेत्रमा योगदान पुर्याउने
श्यामबाबु साह (बरहथवा–५)
लाई पनि संयुक्त रूपमा कार्यालय प्रमुख उपेन्द्र सिंह र अध्यक्ष शम्भु साहले दोसल्ला ओढाएर कदरपत्र प्रदान गरे ।
कार्यक्रममा विज्ञ केन्द्रका कर्मचारी, किसान, पशुपालक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।