सङ्घीय संसद्को प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न आफ्नो स्पेन भ्रमणबारे जानकारी गराउँदै सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
प्रतिनिधिसभाका सचिव हर्कराज राईका अनुसार, आजको बैठकको कार्यसूचीमा प्रतिनिधिसभामा उत्पत्ति भएका दुई विधेयक — ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने समावेश गरिएको छ ।
त्यस्तै राष्ट्रियसभाबाट प्राप्त सन्देशसहित ‘विनियोजन विधेयक, २०८२’, ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ पनि टेबुल गरिने कार्यसूचीमा उल्लेख छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ संसदमा प्रस्तुत गर्ने छन् । यस्तै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ पेस गर्ने कार्यक्रम पनि तय भएको छ ।
आजको बैठकमा महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन तथा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदनसमेत पेस गरिने संसद् सचिवालयले जनाएको छ ।