पर्सा स्वास्थ्य कार्यालयका एक अधिकृतद्वारा पत्रकारमाथि गरिएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ पर्सा शाखा, प्रेस सेन्टर नेपाल पर्सा र प्रेस चौतारी नेपाल पर्सा संयुक्त रूपमा आक्रोशित भएका छन् ।
तीनवटै संस्थाले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै दोषी स्वास्थ्य अधिकृत जयमोद ठाकुरमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेका छन् । संयुक्त विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्य कार्यालय पर्साले आयोजना गरेको तालिम कार्यक्रममा सहभागी पत्रकारहरूलाई जयमोद ठाकुरले अपशब्द प्रयोग गर्दै गालीगलौज र दुर्व्यवहार गरेका छन् । यो प्रेस स्वतन्त्रता र पत्रकारको मर्यादामाथिको खुला हमला हो ।”
दुर्व्यवहारको घटना पत्रकार सन्तोषकुमार कुशवाहा, आरोहण साह, राजु बैठा, राकेशकुमार साह, अर्जुन चौधरी र आनन्द पटेलमाथि भएको उल्लेख गरिएको छ ।
प्रहरी प्रशासनको उदासीनता, संस्थाहरूको आपत्ति
तीनवटै पत्रकार संगठनले घटनालाई गम्भीर रूपमा लिँदै प्रहरी प्रशासनको ढिलासुस्तीसमेत आलोचना गरेका छन् । “दोषीलाई कारबाही गर्न ढिलाइ गर्नु प्रशासनकै भूमिकामाथि शंका उठाउने खालको छ,” विज्ञप्तिमा उल्लेख छ।
चरणबद्ध संघर्षको चेतावनी
संस्थाहरूले दोषीमाथि अविलम्ब कारबाही नगरे प्रतिरोधात्मक कार्यक्रम सुरू गर्ने चेतावनी दिएका छन् । “प्रेसमाथिको दुर्व्यवहार सह्य नहुने छ,” उनीहरूले जोड दिएका छन् । संयुक्त रूपमा जारी विज्ञप्तिमा पत्रकारहरूको पेशागत गरिमा र सुरक्षालाई चुनौती दिने यस्तो कार्यको भर्त्सना गर्दै दोषीलाई उन्मुक्ति नदिन राज्य संयन्त्रलाई आग्रह गरिएको छ ।