प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आउँदो २०८४ सालको निर्वाचनअघि नै प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार झापाको बिर्तामोडमा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले आफूले एक वर्ष सरकार सञ्चालन गरेर नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए ।
‘हामी काम गर्नका लागि सरकारमा गएका हौं,’ ओलीले भने, ‘एक वर्षभित्र धेरै काम गरेका छौं, अझ धेरै गर्न बाँकी छ ।’ उनले आफ्नो नेतृत्वमा रहेको सरकारले युगान्तकारी कामहरू गरेको दाबी गर्दै तराईको हुलाकी सडक तथा चुरे क्षेत्रको मदन भण्डारी राजमार्ग आफ्नै पहलमा रेखांकन भएको उल्लेख गरे ।
ओलीले नेकपा (एमाले)लाई कमजोर पार्ने षड्यन्त्र भइरहेकाले पार्टीलाई चारैतिरबाट घेर्ने प्रयास भएको आरोप लगाए। ‘एमालेलाई टिक्नै नदिने, टिकिहाले उम्रिनै नदिने, उम्रिहाले हुर्किनै नदिने गरी चारैतिरबाट घेराबन्दी गरिएको छ,’ उनले भने ।
एमालेबिना नेपालको सम्भावना नदेखिने जिकिर गर्दै ओलीले पार्टीलाई थप सुदृढ बनाएर जनताको भरोसा जित्ने उद्घोष गरे। उनले झापाबाट एमालेको नयाँ अभियान सुरु हुनेसमेत संकेत दिए ।
शनिबार झापा आएका ओलीले आइतबारसम्म आधा दर्जन विकास आयोजनाहरूको उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रम सकेर उनी आइतबार साँझ काठमाडौं फर्किने तालिका रहेको छ ।