बेलायतको लन्डनस्थित साउथएन्ड विमानस्थलमा आइतबार एक सानो विमान दुर्घटना भएको छ ।
विमान उडेलगत्तै खसेर ठूलो विस्फोटसहित आगो लागेको हो । प्रारम्भिक जानकारी अनुसार मानवीय क्षतिको विवरण अझै सार्वजनिक गरिएको छैन । दुर्घटनापछि साउथएन्ड विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ । विमानस्थल प्रशासनले यात्रुहरूलाई आफ्ना विमान कम्पनीहरूसँग सम्पर्क गर्न आग्रह गरेको छ ।
दुर्घटनाको प्रत्यक्षदर्शी जोनसन, जो आफ्नी श्रीमती र छोराछोरीसँग विमान अवतरण हेर्न गएका थिए, उनले बीबीसीसँग भने, "विमान उडेको केही सेकेन्डमै लगभग उल्टियो र जमिनमा खस्यो । त्यसपछि ठूलो विस्फोट भयो र बाक्लो धुवाँ देखियो ।"
विमानमा कति जना यात्रु सवार थिए र उनीहरूको अवस्था कस्तो छ भन्ने बारेमा हालसम्म कुनै औपचारिक विवरण सार्वजनिक गरिएको छैन । विमान दुर्घटनाको कारणसमेत अहिलेसम्म खुलेको छैन् ।
घटनाको अनुसन्धानका लागि हवाई दुर्घटना जाँच शाखासँग मिलेर प्रहरीले छानबिन सुरु गरेको छ । प्रहरीले घटनासम्बन्धी सूचना दिन नागरिकहरूलाई ‘मेजर इन्सिडेन्ट पोर्टल’ प्रयोग गर्न अपिलसमेत गरेको छ ।
साथै, आपतकालीन सेवाहरूका लागि फोनलाइनहरू खुला गरिएको जानकारी दिइएको छ ।