भूमि आयोगको अध्यक्ष नियुक्ति र मालपोत प्रमुखको सरुवामा गरिएको भनिएको ७८ लाख रुपैयाँको घुस ‘डिल’ सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्ने तयारी सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री गुप्तासँग आज भेट गरी राजीनामा माग्ने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ ।
बालुवाटार स्रोतका अनुसार यदि गुप्ताले राजीनामा दिन नमाने बर्खास्तीको निर्णय गरिनेछ। प्रधानमन्त्रीले आइतबार नै मन्त्री गुप्तासँग फोन संवाद गरेर स्पष्टिकरण मागेका थिए तर चित्त बुझ्दो जवाफ नपाएपछि आज भेटमै ब्रिफिङ लिने तयारी गरिएको हो ।
गुप्ताले भूमि आयोग कास्कीमा एमालेका नेता खेमबहादुर पुनलाई अध्यक्ष नियुक्त गर्न २५ लाखको घुस ‘डिल’ गरेको अडियो सार्वजनिक भएपछि आलोचना चुलिएको हो । उक्त अडियोमा एमालेका अर्का नेता सुजन लामाको संलग्नता, पूर्वमन्त्री रञ्जिता श्रेष्ठको उपस्थिति र मन्त्री गुप्ताको स्वीकारोक्ति समेत समेटिएको छ ।
साथै अडियोमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको समेत नाम समेटिएको छ । अडियोमा गुप्ताले मन्त्री अधिकारीलाई ‘तीनपाने रक्सी’ खुवाएर पैसा खुवाइएको उल्लेख गरेका छन् ।
अडियो सार्वजनिक भएको तीन दिन बितिसक्दा पनि सरकारले कुनै कारबाही नलिएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला प्रधानमन्त्री कार्यालय गम्भीर भएको हो। मन्त्री गुप्तालाई बर्खास्त गर्ने तयारी भए पनि बलराम अधिकारीलाई भने जोगाउने प्रयास भइरहेको स्रोतको दाबी छ ।
उक्त अडियो २०७९ पुस २८ गते रेकर्ड भएको र त्यसपछि पुस २९ गते ५७ जिल्लामा आयोग अध्यक्षको नियुक्ति गरिएको थियो । कास्कीमा भने खेमबहादुर पुनको सट्टा अर्का व्यक्तिलाई नियुक्त गरिएको देखिन्छ ।
यस घटनाले नेकपा एमालेभित्र पनि असन्तोष चुलिएको छ । पार्टी प्रवक्ता राजेन्द्र गौतमले सार्वजनिक रूपमा कारबाहीको माग गरेका छन् भने विपक्षी दल नेपाली कांग्रेसका नेताहरूले पनि गम्भीर छानबिन र बर्खास्तीको माग गरिरहेका छन् ।