हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा समेत हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भागका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
साथै, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। उच्च पहाडी र हिमाली क्षेत्रमा रातको समयमा पनि हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार कोशी प्रदेशका तराई भूभाग तथा मधेस प्रदेशका केही स्थानहरूमा हुरीबतास पनि चल्न सक्ने देखिएको छ। नागरिकलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।