घुस डिलमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मंगलबार पदबाट राजीनामा दिएका छन् ।
गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
नेकपा (एमाले) का केन्द्रिय सदस्य एवं सांसदसमेत रहेका गुप्ताले भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्ति र कास्की मालपोत कार्यालयको प्रमुख सरुवा रोक्नका लागि घुसको लेनदेनमा संलग्न भएको अडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए ।
पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ तथा एमाले गण्डकी प्रदेशका नेता सुजन लामासँगको कथित अडियो सार्वजनिक भएपछि गुप्ताको नाम थप विवादमा आएको हो । उक्त अडियोमा मन्त्री गुप्ताको सरकारी क्वार्टरमै भेटघाट गरी रकमको डिलिङ गरेको स्पष्ट सुनिन्छ ।
गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई झोला रकमसहितको नोट नम्बर र फोटो प्रमाणसहित उजुरी दर्ता भएको छ । गुप्ताले अडियोमा आएको आवाज आफ्नो भएको स्वीकारे पनि केही मिडियामा भने उनले त्यसलाई अस्वीकार गरेका थिए ।
घुस रकम लिएर पुगेकी व्यक्तिका रुपमा भूमि आयोग नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले समेत आफू उपस्थित भएर कुरा गरेको पुष्टि गरेकी छन् ।
अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गुप्ताको बचाउ गर्न खोजे पनि चौतर्फी आलोचना भएपछि अन्ततः उनको निर्देशनमा गुप्ताले राजीनामा दिएको बताइएको छ ।
सम्बन्धीत समाचार
भिडियाे सामाग्री