नेकपा एमाले नेतृत्वको संघीय सरकारसँगको सहकार्य अन्त्य गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै मधेश प्रदेशमा सत्ता समीकरणको तयारी भएकाे छ । भने, जसपाको समर्थन फिर्तासँगै संघीय सरकार राष्ट्रिय सभामा अल्पमतमा परेको छ । राष्ट्रिय सभामा जसपाको ३ सिट रहेको छ ।
नेपाली कांग्रेसले मधेश प्रदेशमा सरकारको नेतृत्व लिने तयारी थालेको छ । मधेश प्रदेशका अर्थमन्त्री सुनिल यादवले दुईवटा रातो किताब बनाएको सार्वजनिक भएपछि विपक्षी दलहरू आक्रोशित भएका छन् । जनमत पार्टीको नेतृत्वमा सरकार बनेको एक वर्ष पूरा भइसकेको अवस्थामा कांग्रेसले बाँकी कार्यकाल नेतृत्व गर्ने दाबीसहित सभापति शेरबहादुर देउवाले पहल थालेका छन् । कांग्रेस निकट नेताहरूले पार्टीलाई मधेश प्रदेशको नेतृत्व दिन केन्द्रीय नेतृत्वमाथि दबाब दिइरहेका छन् ।
यसअघि जसपाको कार्यकारिणी समितिले असार ८ गते बसेको बैठकबाट ओली सरकारलाई दिइएको समर्थनबारे पुनर्विचार गर्न संसदीय दललाई निर्देशन दिएको थियो ।
त्यसयता सरकारसँग सहकार्यका लागि भूमि विधेयकको संशोधन लगायतका पुराना मागहरूमाथि संवाद जारी थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी भएपछि मात्र अन्य विषयमा छलफल गर्ने भनाइ राखेपछि दलको बैठकले समर्थन फिर्ता गर्ने निर्णय गरेको हो ।
११ प्रमुख कारणसहित समर्थन फिर्ता
- जसपा नेपालले समर्थन फिर्ता लिनुको प्रमुख कारणका रूपमा निम्न बुँदाहरू उल्लेख गरेको छ:
- सुशासन प्रत्याभूति गराउन सरकार असफल हुनु
- भ्रष्टाचार, अनियमितता, दण्डहीनता र कमिशनतन्त्र नियन्त्रण गर्न नसक्नु
- आर्थिक विकासमा ठोस नीति नल्याउनु तथा पूर्वाग्रही बजेट
- संघीयताको कार्यान्वयनमा उदासीनता
- कृषि, उद्योग, पर्यटन र जलस्रोतको विकासमा चासो नदेखाउनु
- स्वच्छ पानी, शिक्षा र स्वास्थ्य सेवामा गुणात्मक सुधार नआउनु
- उत्पीडित समुदायका मुद्दा समाधान गर्न नसक्नु
- संविधान संशोधनप्रति उदासीनता
- आन्दोलनरत क्षेत्रका राजबन्दीको रिहाइ नगर्नु
- कृषकका लागि आधारभूत सेवाहरू सुनिश्चित गर्न नसक्नु
- रोजगारी सिर्जना गर्न सरकार असफल हुनु
जसपाले भूमि विधेयक संशोधन, संविधान संशोधन, सत्ता गठबन्धनमा समान सहभागिता र संघ–प्रदेश सरकार सञ्चालनमा सुधारका मागहरू उठाएको थियो । तर प्रधानमन्त्री ओलीले त्यसप्रति उदारता नदेखाएको आरोप जसपाको छ ।
भिडियाे सामाग्री