आर्थिक वर्ष २०८२/०८३ को सुरुवातसँगै सुनचाँदीको बजार मूल्यमा वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ३ सय रुपैयाँ पुगेको छ ।
यसअघि बुधबार सुनको मूल्य १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि बुधबारको तुलनामा ५ रुपैयाँले बढेर २ हजार २६५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार असार ३२ गतेको तुलनामा आज बिहीबार सुनचाँदी दुवैको मूल्य बढेको हो ।
विलासिता करप्रति व्यवसायीको विरोध
यता सरकारले आजदेखि लागू गरेको २ प्रतिशत विलासिता करप्रति सुनचाँदी व्यवसायीहरूले असन्तुष्टि जनाएका छन् । महासंघका अनुसार यस्तो करले बजारमा नकारात्मक असर पार्ने र उपभोक्ता मूल्य झनै महँगो हुने चिन्ता बढेको छ ।
व्यवसायीहरूले करको दर पुनर्विचार गर्न सरकारसँग माग गरेका छन् । महासंघले विलासिता करले आयात घटाउने, कालोबजारी बढाउने र सरकारी राजस्वमै असर पार्ने सम्भावना औंल्याएको छ ।